
सिन्धुली । सिन्धुलीमा सुनकोशी-कमला डाइभर्सन आयाेजनाकाे निर्माण भए कमलाखोंजका उर्वरा क्षेत्रको विकास हुने स्थानीयबासीले आशा गरेका छन् ।
सुनकोशी नदीको पानीलाई सुरुङबाट कमला नदीको भिमान, रानीवास क्षेत्रको चदाहा दोभानमा खसाएर सिन्धुली लगायत सिरहा, धनुषा, महोतरी लगायतका तराईका जिल्लाहरूमा सिंचाई सुविधा पुर्याउन नेपाल सरकारले सुनकोशी–कमला डाइभर्सन निर्माणको अवधारणा ल्याएको थियो । सुनकोशी–कमला डाइभर्सनका लागि ७० प्रतिशत अध्ययन कार्य सकिएको जनाइएको छ । सुनकोसी नदीको पानी पठाउने नवलपुर घाटदेखि कमला नदीसम्मको २२ किलोमिटर डाइभर्सन सुरूङको सर्वेक्षण हुन भने बाँकी रहेको जनाइएकाे छ ।
विगतमा सप्तकोशी कोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी कमला डाइभर्सन योजना सम्बन्धी नेपाल भारत संयुक्त विज्ञ समूहको बैठकमा सोही आयोजनाका विविध पक्षमा छलफल हुँदै आएको थियो । तर सप्तकोशी उच्च बाँध अध्ययन नभएका कारण नेपालले सुनकोसी–कमला डाइभर्सनको अध्ययन कार्य अघि बढाउन सकेको छैन ।
सन् २००४ मा दुई देशका प्रधानमन्त्री तहमा भएको सहमति अनुसार नेपालले भारतलाई उच्च बाँध अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन दिने र सुनकोशी कमला पनि भारतले नै अध्ययन गरिदिने एमओयू (समझदारी) भएको थियो ।
प्रतिक्रिया दिनुहोस्