२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले


195
Shares

काठमाडौं । कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर’को नीति अख्तियार गरिरहेको छ। त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए पनि एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न। प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ। यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ। कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ। यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ। एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन।

माओवादी केन्द्रले सरकार गठनका लागि सत्ता गठबन्धनमा आबद्धबाहेक दलसँग पनि सहकार्य गर्न सक्ने जनाएको छ तर एमालेसँग भने कसैसँग कुराकानी अघि बढाएको छैन। कांग्रेसलाई छाडेर आउने हो भने पनि माओवादी केन्द्रले एमालेसँग संवाद नगरी सरकार बनाउन सक्ने अवस्था छैन। एमालेले आवश्यक परेको खण्डमा मात्रै सरकार गठनका लागि आफूले पहलकदमी लिने बताएको छ। ‘अहिले हामीलाई जनताले प्रतिपक्षमा बस्न निर्देशन दिएका छन्। सरकार गठनमा सत्ता गठबन्धनकै बहुमत पुग्छ। उहाँहरूले नै पहल गर्नुहोला। एमालेले यसबारे केही सोचेको छैन,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने। उनका अनुसार आवश्यक परे एमालेले पनि सरकार गठनको पहल गर्नेछ तर अहिले कुनै दलहरूसँग छलफल भने गरेको छैन। निर्वाचन आयोगले समानुपातिकको नतिजा प्रकाशन गरेपछि मात्रै सरकार गठनबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा एमाले रहेको छ।

आयोगले मंसिर २८ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। एमालेले सत्ता गठबन्धनको सहकार्य कसरी अघि बढ्छ भनेर पनि नियालिरहेको छ। साथै एमालेले सातवटै प्रदेशको नतिजा र सरकार गठनको विषयमा अन्य दलहरूसँगको सहकार्यबारे छलफल गर्न चाहेको छ। तर सत्ता गठबन्धनमा बेमेल भए मात्रै आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले त्यस्तो अवस्थाको पर्खाइमा एमाले छ। पाँच दलीय सत्ता गठबन्धनले नयाँ सरकार अहिलेकै गठबन्धनको नेतृत्वमा बनाउन पहल गर्ने निर्णय गरिसकेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।