राणासँग १२० पत्तीको तास अझैं सुरक्षित, भगवान विष्णुदेखि रावणसम्मको अवतार « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


राणासँग १२० पत्तीको तास अझैं सुरक्षित, भगवान विष्णुदेखि रावणसम्मको अवतार


9.633k
Shares

काठमाडौं । मानव सभ्यता विकाससँगै मनोरञ्जनका लागि पनि विभिन्न खेलको विकास भएको पाइन्छ । जसमध्ये तास खेल पनि मनोरञ्जनको लोकप्रिय साधन बन्दै आएको छ । विशेषगरी तास खेल १३ औं शताब्दीतिर युरोपको इटलीबाट प्रादुर्भाव भएको विश्वास गरिन्छ । तर, धेरै नेपालीलाई समेत थाहा नहोला कि नेपाल मण्डलमा पनि मौलिक खेल दश अवतारको तास रहेको थियो । दश अवतार तासका पत्ती केही राणा खलकका घरमा अझै सुरक्षित रहेको छ ।

मानव सभ्यताको विकाससँगै विभिन्न खेलहरुको विकास भएको इतिहास छ । नेपालमा पनि विभिन्न मौलिक खेलहरु विगतमा खेलिन्थ्यो । तर, थाहा नै नपाई यस्ता खेलहरु लोप पनि भएका छन् । यस मध्ये मौलिक खेल दश अवतारको तास पनि एक हो । शायदै कसैलाई थाहा होला नेपालमा पनि यस्तो तासको खेल पनि खेलिन्थ्यो भनेर । यो खेल पालनकर्ता भगवान विष्णुको दश अवतारसँग सम्बन्धित रहेको छ । तासका प्रत्येक पत्तीमा विष्णु भगवानको अवतार र सो अवतारको प्रमुख शत्रु राक्षसको चित्र हुन्छ । साथै प्रत्येक अवतारमा राक्षसलाई मार्ने हतियारको चित्र सहित १२ किसिमका तासको पत्तीसहित कूल १२० पत्तीको एक सेट रहेको हुन्छ ।

एक सेट तास ६ देखि ८ जनाबीच खेल्ने गरिन्छ । विगतमा साहु महाजन र राणा खलकहरुको घरमा यो दश अवतारको तास खेलिन्थ्यो, तर अहिले यो खेल प्रचलनमा छैन । यो ऐतिहासिक तासको पत्ती राणाशासनको अन्तिम कमाणडर इन चिफ बबर शम्शेरका नाति, लेफ्टिनेन्ट जनरल मृगेन्द्र शम्शेर राणाका छोरा सागर शम्शेर राणासँग सुरक्षित रहेको छ ।

सागर शम्शेर राणा

८४ वर्षीय राणाले ५/६ वर्षको उमेरदेखि घरमा देखेको यो तास बबरमहलमा खेल्ने गरेको बताउनुभयो । घरमा परिवारको सदस्य विरामी हुँदा पैसा नहालिकन यो तास खेल्ने गरिएको उहाँ बताउनुहुन्छ । भगवानको चित्र भएका कारण पैसा नहालिकन खेलिने यस खेलबाट विरामीको आत्मवल समेत बढ्ने विश्वास रहेको बताउनुहुन्छ ।

सयौं वर्ष पुरानो भएता पनि तासको पत्ती नयाँ जस्तै, देखिन्छ । यी तास कहिले बनेका हुन् यकिन भन्न सकिँदैन । यस्तो मौलिक खेल र तासको अनुसन्धान हुनु पर्ने राणाको जोड छ । सायद अरु राणा खलक वा साहुमहाजनको घरमा पनि यस्ता तास सुरक्षित हुन सक्ने उहाँको अनुमान छ ।

यस्ता लोप भइसकेको मौलिक खेलको अध्ययन अनुसन्धान गरि प्रकाशमा ल्याउन सके नेपालको कला संस्कृतिका लागि महत्वपूर्ण हुने देखिन्छ । यो खेललाई ब्युँत्याएर समय अनुकुल बनाउन सके मनोरञ्जनका साथै मौलिक खेलको पहिचान पनि रहने थियो कि ?