नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा


1.118k
Shares

काठमाडौं । नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।

मंगलबार राति भएको आफ्नो समुहको अन्तिम खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा पुगेको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन कोडी गाक्पो र फ्रेङ्की डे योङले एक एक गोल गरे ।

यहि समुहको अर्को खेलमा सेनेगल इक्वेडरलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा पुगेको हो । सेनेगलको लागि इस्माइला सार र कालिदु काउलीबालीले एक एक गोल गर्दा इक्वेडरका काइसेडोले एक गोल फर्काए ।

समुह ए बाट नेदरल्याण्ड्स ७ अंकसहित विजेता तथा सेनेगल ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

यसैगरी, समुह बी को खेलमा इंग्ल्याण्ड वेल्सलाई ३–० ले हराउँदै नकआउट चरणमा पुगेको हो । इंग्ल्याण्डका लागि मार्कस रास्फोर्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल थपे ।

यहि समुहको अर्को खेलमा अमेरिका इरानलाई १–० ले हराउँदै नकआउट चरणमा पुगेको हो । अमेरिकाको जितमा क्रिश्चियन पुलिसिकको गोल निर्णायक बन्यो ।

यो समुहमा ७ अंक जोडेको इंग्ल्याण्ड समुह विजेता बन्दा ५ अंकसहित अमेरिका उपविजेता बन्यो । ३ अंक जोडेको इरान तथा एक अंक जोडेको वेल्स समुह चरणबाटै बाहिरिएका छन् ।

विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्सले अमेरिकाको सामना गर्दा इंग्ल्याण्डको भिडन्त सेनेगलसँग हुनेछ ।