पाँचथरमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


पाँचथरमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा


377
Shares

पाँचथर । पाँचथरमा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले नेकपा एमालेका उम्मेदवार बसन्त कुमार नेम्वाङलाई २ सय ३१ मतले पछाडि पार्नुभएको छ ।

बुधबार बिहानसम्म आङदेम्वेले ६ हजार ९ सय ६१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । एमालेका उम्मेदवार नेम्वाङले भने ६ हजार ७ सय ३० मत प्राप्त गरेर पछ्याइरहनुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङले ४ सय १३ मत प्राप्त गरेर नेम्वाङलाई पछ्याइरहनुभएको छ । अहिलेसम्म प्रतिनिधि सभाको १६ हजार ४२ मत गणना गरिएको छ । अझै ५९ हजार ३ सय १० मत गणना हुन बाँकी रहेकाे छ ।

यता, प्रदेश सभातर्फ दुई वटै प्रदेशमा गठबन्धनकै उम्मेदवारहरू अगाडी देखिएका छन् । प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले ७ हजार ९ सय ८० मत प्राप्त गनुभएको छ । एमालेका उम्मेदवार अइन्द्रसुन्दर नेम्वाङले ५ हजार २ सय ४२ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । यहाँ आङवो र नेम्वाङबीचको मतान्तर २ हजार ३८ रहेकाे छ ।पाँचथर प्रदेश सभा ख मा १६ हजार ८ सय ४४ मत गणना गरिएको छ । यस क्षेत्रमा १८ हजार १ सय ३६ मत गणना हुन बाँकी रहेको छ । यस क्षेत्रमा ३४ हजार ९ सय ८० मत खसेको थियो ।

त्यस्तै प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार कमलप्रसाद जवेगु अग्र स्थानमा हुनुहुन्छ ।जवेगुले ७ हजार ४८ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो । एमालेका राजकुमार भण्डारीले ६ हजार ९ सय ३३ मतसहित जवेगुलाई पछ्याइरहनु भएको छ । जवेगुले १ सय १५ मतसहित अग्रता लिइरहनुभएको छ । साेही क्षेत्रमा १६ हजार ८ सय ३४ मत गणना भएको छ । २३ हजार ५ सय ३८ मत गणना हुँन बाँकी रहेकाे छ ।

यस क्षेत्रमा ४० हजार ३ सय ७२ मत खसेको थियो ।