काठमाडौं । कात्तिक तेस्रो साता सप्तरीको सप्तकोसी नगरपालिकास्थित ओद्राहामा उम्मेदवारहरू मत माग्दै थिए। कोही माइकिङमार्फत त कोही झुपडी–झुपडी पसेर। मत माग्न जानेहरू बेलाबेला नाचगान पनि गरिरहेका थिए। ठीक त्यही समय त्यहीँकी पुनम सदा भने आफ्नै पिँढीमा टोलाएर बसेकी थिइन्। आँगनमै जोडिएको सडकको नाचगानले उनको ध्यान कत्ति पनि खिच्न सकेको थिएन। खिचोस् पनि कसरी रु केही दिनअघि मात्र ठेकेदारमार्फत काम गर्न पन्जाब लगिएका ससुरा कामकै सिलसिलामा लडेर ढाड भाँच्चिएपछि विचल्ली भएको छ।
सासू वृद्ध छिन्। बाबुसँगै काम गर्न गएका श्रीमान् पनि बाबुको उपचारमा लाग्नुपरेकाले काम गर्ने कुरै भएन। एकातिर काम गर्न नसकेपछि खानै समस्या हुने भयो अर्कोतर्फ ठेकेदारले दिएको अग्रिम घरखर्च पनि सकिइसक्यो। यस्तो अवस्थामा उनको ध्यान कसरी चुनावमा जाओस् ? ओद्राहा त्यही दुःखी गाउँ हो जहाँ २ वर्षपहिले मात्र घरैपिच्छे घाइते भएका थिए। गाउँभरिका युवा बटुलेर ठेकेदारले नै रिजर्भ गरी पन्जाब लैजान लागेको बस पल्टेपछि एक जनाको मृत्यु भएको थियो भने प्रायः सबै घाइते भएका थिए। तर पनि खानकै लागि श्रम बेच्न बाध्य यहाँका सदा समुदाय ठेकेदारकै शरणमा पर्नुको विकल्प छैन। र, पुनः पन्जाब पुगिसके।
सप्तकोसी नगरपालिकाकै अर्को गाउँ भगनी कमलपुरका बासिन्दा प्रत्येक दिन साँझ पर्नुअघि नै आधा घण्टापरको गङ्गाजली नदीको उकासमा बनाइएका टहरामा सुत्न जान्छन् र बिहान झिसमिसेमै फर्कन्छन्। किनकि २–३ धुरमा बनेका आफ्ना घर नामका झुपडीमा परिवारका सबैलाई सुत्नै पुग्दैन। त्यसैले बालबच्चा, अशक्त र ज्येष्ठ नागरिकलाई यहीं छाडेर बलियाहरू अन्यत्र सुत्न जानु यहाँको चलनै भएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्