चुनावलाई उद्योग बनाइँदै ! « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


चुनावलाई उद्योग बनाइँदै !


117
Shares

गरिब देशको चुनाव एक बहुरुपि उद्योग बनाइएको छ । जब मुलुकमा चुनाव आउँछ तब अनेक खाले विचार बेपार गर्ने वैचारिक पसलहरू खुल्छन् । विचित्र खालका त्यस्ता पसलमा नेताहरू कहिले नगदमा र कहिले उधारोमा विचार बेचिरहेका हुन्छन् ।
विचारको बेपार भनेकै चुनाव बनाइयो ।

नाङ्लो पसलेदेखि हाइड्रोका बेपार गर्नेहरूसमेत चुनाव आउनासाथ उत्साहित भैहाल्छन् । यो उत्साहले चुनाव आउनासाथ चकाचौँध बनाउँछ । मानिसहरू आफ्नो बेपार बढेर आफू सत्तामा जान पाउने खुसियालीमा मख्ख छन् । मतदातालाई पाँच वर्षसम्म आफ्ना जिनिस बेच्न पाउने हर्षातिरेकमा विचारका बाहकहरू मख्ख छन् । यसरी किन मख्ख परेका छन् सोची ल्याउँदा छक्क पर्ने वातावरण देखापर्दो छ ।

देशका ठूला र पुराना विचारका वाहकहरूलाई बाइपास गर्दै वर्तमान चुनावमा स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीहरूसमेत अहिले यतिखेर जनतामाझ आएका छन् । वैचारिक पार्टीहरूले बन्देज गरिरहेका बेला एकातिर स्वतन्त्रको झुन्ड जनताका घरदैलो पुगिरहेका छन् भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा समेत व्यक्तिहरू नयाँ र नन टेष्ट अनुहारहरू लिएर जनतासामु गएका छन् ।

अघिल्लो चुनावमा नेकपालाई मतदाताले करिब दुई तिहाई नजिकको मत दिँदा पनि पाँच वर्ष सत्ता टिकाउन सकेन । बरू सो सत्ताले कोरोना महामारी र त्यसपछिका उसका आपसी वैरभावमा जनतालाई अनेकथरीले चिढ्याउने काम गरेथ्यो । संघीय संसदमा झापा क्षेत्र नं.–२ बाट उम्मेदवार बनेका नेपालका लागि नेपाली अभियानका उम्मेदवार स्वागत नेपाल हाकाहाकी भन्छन् –‘ओलीले अहिले फेरि दुई तिहाई हामीलाई देऊ भनेर मतदातासँग हात पसार्नु भनेको सरासरी जनताप्रतिको धोकाघडी हो । हिजो तीन वर्षको समयमा बालुवाटारमा मासु खाँदा मात्र ओलीका झुण्डले १६ करोडको खाएछन् जबकि चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा त्यहाँ भएका स्थानीय गिद्ध र विदेशी पाहुना चरालाईसमेत मासु खुवाउँदा वार्षिक १५ लाख मात्र खर्च भएको रहेछ । यिनीहरू त गिद्धभन्दा धेरै मासु खाने पार्टीका नेता कार्यकर्ताहरू पो रहेछन् । तीन वर्षमा १६ लाखको मिनरल वाटर मात्र खाएको बिल सरकारले तिरेथ्यो ।’

यस्ता रोष प्रकट गराइका आधारमा समेत अहिले नाम चलेका बूढा नेताहरूलाई ठाउँका ठाउँ रोक्न सकियो भने र तिनका ठाउँमा नयाँ र केही गर्छु भन्ने खालका काबिल नेताहरूलाई चुनेर संसदमा पठाउन सकियो भने जनताका असन्तुष्टिलाई केही मात्रामा भए पनि संसद सदस्यहरूले उठाउने थिए कि भन्ने झिना आस अब बाँकी छन् ।

देशका ठूला तीन पार्टीमै आम मतदाताहरूको आस अडिएको छ भने अर्कोतिर यिनै तीन पार्टीका विरुद्धमा अहिले मतदाताहरू एक ढिक्का भएर लागिपरेका छन् । कुरो बुझेर बुझी नसक्नु छ । पुराना नेता हराउने कि तिनैलाई यो पाली पनि संरक्षण गरेर मुखको तीतो मात्र फेर्ने ? यी कुरा जनताले यही चुनावमा स्पष्टसँग बताउन सक्नुपर्छ । अघिपछि मुखको तीतो मात्र फेर्ने अनि चुनावमा चाहिँ उही पुरानै पार्टीका मत चिन्हमा चुपचाप भएर मत खसाल्ने हो भने कसैको केही लाग्दैन ।

देश क्रमशः रसातलमा जाँदो छ । प्रदेशलाई मतदाताहरूले कामै नलाग्ने भनेर चित्रण गरेको यो बेलामा राप्रपाले बाहेक अन्य कसैले पनि प्रदेश खारेजीको माग आ–आफ्ना घोषणापत्रमा गरेका छैनन् । काँग्रेस, एमाले र माओवादीका दुःख अन्य पार्टीका भन्दा धेरै र बेग्लै छन् । ती पार्टीहरूले आफ्ना बीचको छिमलका नेता र कार्यकर्ताहरूलाई भागवण्डा दिनकै लागि तिनीहरूलाई प्रदेश चाहिएको छ । नत्र बाँकी नेता, कार्यकर्ता र स्वतन्त्र बुद्धिजीवीहरूले समेत प्रदेश खारेजीका माग उठाइरहेका छन् । नेपालका हकमा संघ र स्थानीय तहलाई अझ सशक्त बनाएर लैजाने हो भने स्थानीय तहले जनताका धेरैभन्दा धेरै कामहरू सजिलै गर्न सक्छन् ।‘चुनावमा नयाँ पुराना जो सुकैले पनि बेपर्वाह रूपैयाँ÷पैसा खर्च गरिरहेको देखिन्छ ।

असम्भव भन्ने कुरा चेतनशील मतदाता भएका देश र स्थानमा हुँदैन । भारतमा गएको चुनावमा आम आदमी पार्टीले पञ्जाव र राजस्थानमा सरकार बनाएर देखायो । दिल्लीमा ऊ दुई कार्यकालदेखि नै निरन्तर छ । नेपालमै पनि बालेन शाह, हर्क साम्पाङ् र गोपी हमालजस्ता मतदाताप्रति विश्वस्त स्वतन्त्र उम्मेदवारहरूले एकाएक चुनाव जिते । यही क्रम संघ र प्रदेशका चुनावमा दोहोरियो भने नेपालमा अर्कोपटक फेरि राजनीतिक पुनर्जागरण आउन सक्छ ।

यो आस गर्ने कुरा मात्र भयो । देशैभरि चुनावले हरेक क्षेत्र, वर्ग, जातजाति, उमेर समूह र पेसाका मानिसहरूलाई चलायमान बनाएको छ । अहिले के देखिन्छ भने नाङ्लो पसलदेखि ग्रोसरी पसलहरूसम्म चुनावका निहूँमा चल्न थालेका छन् । बैँकबाट व्यक्तिले पैसा निकालेका छन् । यातायातका साधनमा मोटर, प्लेन र साना सवारीको समेत चलखेल हुन थालिसकेको छ । भात होटलदेखि, किराना, चुनाव सामग्रीका पसल, छापाखाना, पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजनहरूले काम पाएका छन् । यस्तो लाग्छ चुनाव भनेको ठूलो उद्योग हो जसले पचासौं लाख या करोडौं मानिसलाई मेचीकाली सबै भूगोलमा एकैपटकमा चलायमान बनाउन सक्छ ।

चुनावले कङ्गालदेखि कुलीनसम्मका तिजोरी खोलाउन सक्छ । क्यासिनो नामका जुवाघरदेखि रेष्टुरेन्ट, लज, क्याफे र रिसोर्टहरूसमेत बेपर्वाहसँग चल्न थालेका छन् । खर्च गर्नु हुँदैनहुँदैन भन्दाभन्दै अहिले मानिसहरू थाहा नपाएजस्तो गरी चुनावका नाममा ह्वारह्वारती पैसा खर्च गरिरहेका छन् । यसो किन भैरहेछ भन्दा खर्च नगरी चुनाव जितिदैँन भन्ने मानसिकता उम्मेदवारमा देखिन्छ ।

त्यसैले भनिएको रहेछ –‘गरिब देशको चुनाव भनेको उद्योग धन्दाजस्तै हो । यो बेलामा यहाँ सबैले आफ्नो गच्छे अनुसारका काम फटापट पाउँछन् ।’ अहिले नेपालको आगामी मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्दै भनिएको यो कुराले सोह्रैआना सत्यता जाहेर गर्छ । यसले हामीकहाँ सचेत मतदाताका तुलनामा असचेत मतदाताहरू नै धेरै छन् भन्ने कुरा स्ष्टसँग देखाउँछ । जसरी हुन्छ चुनाव जित्ने ध्याउन्नमा अधिकांश उम्मेदवारहरू लागेका छन् । मतदाताहरूले बुझेर आफ्नो मत आफ्नै मन ज्ञानले मात्र दिनुपर्छ । यसैमा लोकतन्त्र र मतदाताको पनि भलाइ छ । नत्र आउने पाँच वर्षसम्म पछुताउनु सिवाय मतदाताका मनमा थप केही रहन्न ।