राज्यको प्राथमिकतामा नपर्दा डडेल्धुराका स्थानीयबासी न्यूनतम सुविधाबाट वञ्चित « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


राज्यको प्राथमिकतामा नपर्दा डडेल्धुराका स्थानीयबासी न्यूनतम सुविधाबाट वञ्चित


169
Shares

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाकाे गृह जिल्ला डडेल्धुराका जनता आधारभूत सेवा सुविधाबाट समेत वञ्चित भएका छन ।

३ दशकदेखि बाटो नखुल्दा डडेल्धुराको अन्तिम बस्तीका जनता आधारभूत सेवा सुविधाबाट वञ्चित भएका हुन् । सडक, शिक्षा, स्वास्थ्य अस्पताल, बजार र यातायात जस्ता अत्यावश्यक सुविधा नपाउँदा समस्या भोग्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

३ दशकदेखि बाटो नखुल्दा डडेल्धुराको अन्तिम बस्तीका जनता आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारदेखि दार्चुला जोड्ने महाकाली प्रस्तावित करिडोर सडकसँग जोडिएको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका– ७ को साँदनीदेखि वडा नम्बर ६ को कराली, गैराखान र चुनेपानी खाल मछेट्टि सडक विगत ३० वर्षदेखि चर्चामा रहे पनि काम अघि नबढेको स्थानीयको भनाइ छ ।

करिब १७ किलोमिटर मात्र लम्बाई रहेको उक्त सडक सञ्चालनमा नआउँदा यहाँका स्थानीयले शिक्षा, स्वास्थ्य लगायत दैनिक उपभोग्य वस्तुका लागि समस्या भोग्नु परेको छ । डडेल्धुराको अन्तिम दक्षिण पश्चिम सिमानाका जनता सडकले मात्र नभइ सञ्चार सुविधाबाट पनि वञ्चित भएका छन् । यहाँ दिउँसो घाम लागेका बेला मात्र मोबाइलमा नेटवर्कले काम गर्ने वडा नम्बर ६ का स्थानीयबासी भूपेन्द्र धामी बताउनुहुन्छ ।

गाउँबाट १ सय मिटर मात्रको दूरीमा महाकाली नदी रहेकाे छ । चारैतिर पानीका श्रोत छन् । तर खानेपानी तथा सिँचाईको कुनै योजना र सुविधा छैन भने सडक, शिक्षा, स्वास्थ्य अस्पताल, बजार र यातायातको असुविधा भएको स्थानीयको गुनासो छ ।

स्थानीय पालिका केन्द्र रहेको बजारमा जान ५ घण्टा लाग्छ । तर भारतीय बजारमा जान आधा घण्टा मात्र लाग्छ । महाकाली नदीमा झोलुङ्गे पुलसम्म पनि नहुँदा सरकार तथा जनप्रतिनिधिप्रति स्थानीय रुष्ट देखिएका छन् ।