काठमाडौं । इजिप्टमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालले पर्वतीय मुद्दा र नेपालको हिमवत् खण्डमा जलवायु परिवर्तनले पारेको प्रभावलाई प्रमुखताका साथ राखेको छ ।
प्रधानमन्त्री सहभागी नभएकाले राष्ट्रप्रमुखहरूको सोमबार र मंगलबार भएको उच्चस्तरीय सत्र वर्ल्ड लिडर्स समिटमा नेपालले आफ्ना भनाइ राख्न नपाए पनि सम्मेलनको दौरानमा भइरहेको साइड इभेन्ट्स तथा अन्य क्षेत्रगत छलफलमा नेपालको प्रतिनिधिमण्डलका सदस्य तथा विषयगत विज्ञहरूले नेपाललाई प्रतिनिधित्व गरिरहेका छन् ।
सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार साउथ एसियाली क्षेत्रका मन्त्रीहरू सहभागी सासेप बैठकमा बोल्दै क्षेत्रीय स्तरका सामूहिक जलवायु कार्यमा सहकार्य गर्न नेपाल तयार रहेको बताइन् । उनले जलवायुजन्य हानिनोक्सानीका लागि निर्दिष्ट वित्तीय संयन्त्र आवश्यक रहेको र जलवायु जोखिममा समुदायलाई विशेष सुरक्षण चाहिएको बताइन् ।
हिन्दकुश हिमालय क्षेत्रसम्बन्धी मंगलबार आयोजित एक अर्काे कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले हिमालय क्षेत्र पृथ्वीको धड्कन भए पनि यो क्षेत्र पछाडि परेको चर्चा गर्दै यो क्षेत्रका राजनीतिक तथा प्रशासनिक नेतृत्वले आफ्ना विकास नीति तथा रणनीतिलाई समीक्षा गर्न आवश्यक रहेको बताए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्