
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले विश्वका विकसित र विकासोन्मुख देशलाई जलवायु एकता सम्झौता गर्न माग गरेका छन् । उनले मानवतासँग या त आपसी समन्वय गर्ने नभए आफैं विलुप्त हुने विकल्प मात्र रहेको चर्चा गरे। ‘म विश्वका विकसित र विकासोन्मुख देशले ऐतिहासिक जलवायु एकता सम्झौता (क्लाइमेट सोलिड्यारी प्याक्ट) गर्न आह्वान गर्छु,’ उनले भने।
विश्वको तापक्रम निरन्तर बढ्दो क्रममा रहेको र त्यसलाई रोक्न विश्वले गरेको प्रयास अपर्याप्त रहेको सन्दर्भमा महासचिव गुटरेसले इजिप्टमा जारी जलवायु सम्मेलनमा उक्त आह्वान गरेका हुन् ।
पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म औद्योगिक क्रान्तिअघिको तुलनामा विश्वका तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्री सेल्सियसमा सीमित राख्न सुझाए पनि विश्वको तापमान १.१ डिग्री सेल्सियसले बढिसकेको छ। विद्यमान प्रयास र उत्सर्जनका प्रस्तावित लक्ष्यका आधारमा हिसाब गर्दा विश्वको तापमान २.५ डिग्रीले बढ्ने विभिन्न आकलनले देखाएका छन् ।
‘यो दशकभित्रै उत्सर्जन घटाएर पेरिस सम्झौताको १.५ डिग्रीको लक्ष्य हासिल गर्न थप प्रयासका लागि यो सम्झौता आवश्यक छ,’ उनले भने। उनले यो सम्झौताअन्तर्गत धनी राष्ट्र र अन्तर्राष्ट्रिय वित्तीय निकायले उदयोन्मुख अर्थतन्त्र भएका राष्ट्रमा नवीकरणीय ऊर्जा रूपान्तरण प्रयासमा वित्तीय तथा प्राविधिक सहयोग गर्न सक्ने तर्क पनि गरे।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्