२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


२०७४ कै कांग्रेसका थापा र एमालेका भट्टराईबीच कडा प्रतिस्पर्धा

काठमाडौं–४ मा कसको पल्ला भारी

4.355k
Shares

काठमाडौं । काठमाडौं क्षेत्रनम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विगतका निर्वाचनको मत परिणाम र अहिलेको निर्वाचन माहोल हेर्दा पुरानै प्रतिस्पर्धीहरू थापा र भट्टराईबीच नै टक्कर हुने देखिएको हो । यद्यपि, यो क्षेत्रमा १४ स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिस्पर्धामा उभिएका छन् । दुईपटक सोही निर्वाचन क्षेत्रबाट निर्वाचित थापा कांग्रेस पार्टीभित्र र जनतामाझ उत्तिकै लोकप्रिय रहेको जिकिर गर्दै स्थानीय नवराज दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पछिल्लो समयमा उहाँको पक्षमा खुल्दो जनमतले थापालाई जितको आधार तय गर्न सहज बनेको छ ।’ थापासँग २०७४ सालकै प्रतिद्वन्द्वी चुनावी मैदानमा प्रतिस्पर्धीका रूपमा रहेकाले राजधानीको अन्य क्षेत्रको तुलनामा यो क्षेत्रको चुनावी माहोल चर्चायोग्य छ ।

कात्तिक १७ बाट चुनावी अभियानलाई तीव्र बनाएका थापा र भट्टराई दुवैले आफ्नो जितको दाबी गर्नुभएको छ । निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै कांग्रेस नेता थापाले निर्वाचनपछि सरकार सञ्चालनको जिम्मेवारी आफैंले सम्हाल्ने बताउनुभएको छ । उहाँले भन्नुभयो–‘यसपटक मेरो विशेष अनुभवका आधारमा मौका पाउँदै गर्दा पार्टीको पनि मूल जिम्मेवारीमा र मेरो प्रयत्न अहिलेसम्म ड्राइभिङ सिटमा आफैं बसेर पाँच वर्ष देश सञ्चालन गर्ने हुनेछ ।’ उहाँकोे यो अभिव्यक्तिपछि देशको भावी प्रधानमन्त्री चुन्ने निर्वाचन क्षेत्रको रूपमा त्यहाँका मतदाता उत्साहित बनेका छन् । यस्तै, स्वास्थ्य मन्त्री हुँदा बुढानिकण्ठमा स्थापना गरेको घरमै पुगेर सेवा दिने स्वास्थ्य प्रवर्धन केन्द्र स्थापनालगायत यस क्षेत्रमा गरेको योगदानले पनि थापाको जनमत बढाएको स्थानीयहरू बताउँछन् ।

प्रधानमन्त्रीकै दाबी गरेका र आफ्ना विचार तथा अभिव्यक्ति प्रस्ट राख्न सक्ने र कुशल संगठकका रूपमा पहिचान बनाउन सफल नेता थापाको पक्षमा जनमत विस्तारै संग्लिदै गएको कांग्रेसका नेता विनोद चालिसेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘थापाले राष्ट्रिय मुद्दामा लिँदै आएको स्ट्यान्डले जितलाई अझ बल पुर्याएको छ । सदनमा राष्ट्रियताको सवाल होस् या भूगोलको विकास र नागरिकको सुखदुःख, सबै तहमा उहाँको त्यत्तिकै सक्रियता छ । यो नै थापको जितको दर्बिलो आधार हो।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।