स्याङजामा चुनावी माहोल तातिदै « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


स्याङजामा चुनावी माहोल तातिदै


637
Shares

स्याङजा । स्याङ्जामा चुनावी माहोल तातिएको छ ।

जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिष्पर्धीका रूपमा रहेका छन् । अन्य साना ठूला दलहरूले पनि भेटघाटलाई तीव्रता दिएका हुन् । ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुकाे चुनौती थपिएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङजामा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । २ लाख ४४ हजार ८९ मतदाता रहेको जिल्लामा मंसिर ४ को निर्वाचनमा जित आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरू दौडधुप गरिरहेका छन् ।

मुख्य दुई दलबीच स्याङजामा कडा प्रतिष्पर्धा हुने देखिएको छ । स्याङजा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पदमा अर्याल आ–आफ्नाे एजेण्डाका साथ प्रचारप्रसारमा जुटेका छन् । जनताको आवाजलाई सिंहदरवारसम्म पुर्‍याउने कांग्रेसका उपसभापति गुरुङको भनाइ छ ।

गुरूङ पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लाग्नुभएको हो भने अर्याल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हनुभएको थियो । तत्कालीन नेकपा एमाले र माओवादीबीच तालमेल गरेर वाम गठबन्धन बनेको थियो ।

स्याङ्जा–२ मा २०७४ सालमा कांग्रेसका पूर्वउपसभापति गोपालमानलाई हराएर अर्यालले चुनाव जित्नुभएको थियाे । २०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र यसपाली नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा सामेल भएकाे छ । त्यसैगरी, अर्यालले आफू पनि कमजोर उम्मेदवार नभएको बताउनुभएको छ ।

स्याङजा क्षेत्र नम्बर २ (क) मा प्रदेशतर्फ क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसबाट भोजराज अर्याल र नेकपा एमालेबाट मोहन रेग्मी चुनाव लड्दै छन् । यसैगरी २ (ख) मा नेकपा एमालेबाट डा. बुद्धिमान श्रेष्ठ र नेपाली कांग्रेसबाट महेश भट्टराई छन् ।

स्याङजा क्षेत्र नं १ मा पनि नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति राजु थापा र एमालेका नारायण मरासिनीबीच तेश्रो पटक प्रतिष्पर्धा हुँदैछ । संविधान र राष्ट्रियताको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन गरी चुनावी तयारीमा जुटेको थापाको भनाइ छ ।

प्रदेशतर्फ क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेबाट सिता सुन्दास र गठबन्धनबाट अमृता थापा मगर चुनाव लड्दै छन् । यसैगरी १ (ख) मा एमालेबाट सुधिर पौडेल र नेपाली कांग्रेसबाट कुमार राना छन् । प्रदेशसभा तर्फका उम्मेदवारहरु पनि चुनावी प्रचारमा व्यस्त भएका छन् ।

मुख्य ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेलाई मंसिर ४ को निर्वाचनमा विजयका लागि स्वतन्त्र उम्मेदवारहरुकाे चुनौती थपिएको छ ।