आईटीटीएफ लेभल टु कोर्स सकियो « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


आईटीटीएफ लेभल टु कोर्स सकियो


299
Shares

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स सम्पन्न भएको छ ।

कुल दश दिनको कार्यक्रममा सहभागीले उच्च प्रदर्शन गरेका थिए । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी हुन् । उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको छ ।

कार्यक्रमपछि नेपालमा थप १३ लेभल टु प्रशिक्षक भएका छन् र त्यसमध्ये आठ जनाले ‘अपग्रेड’ समेत प्राप्त गरेका छन् । अब नेपालमा कुल ११ अपग्रेड लेभल टु प्रशिक्षक भएको छ र तिनीहरू लेभल थ्री प्रशिक्षणका लागि योग्य भएका छन् ।

लेभल टु प्रशिक्षकले कुनैपनि देशको राष्ट्रिय टिम सम्हाल्न सक्नेछन् । यो नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत भएको हो । समापन समारोहमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले उच्च दक्ष जनशक्तिसहितका प्रशिक्षकले नेपालमा यो खेलको विकासमा योगदान पुग्ने बताए ।

यस्तै, दक्षिण एशियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौतमले यसपल्टको प्रशिक्षण कार्यक्रममा सफलताको प्रतिशत पहिलो पल्ट उच्च रहेको बताए । यस्तै, प्रशिक्षक चीले सहभागीलाई नेपालको टेबल टेनिस विकासमा संलग्न हुन अनुरोध गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासका लागि दक्ष प्रशिक्षकको आवश्यकता रहेकोमा जोड दिँदै कार्यक्रममा सहभागीले नेपाली टेबल टेनिसको विकासमा टेवा दिने विश्वास व्यक्त गरे ।