निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन


442
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनुभएको छ ।

उपत्यकामा कार्यरत उच्च प्रहरी अधिकारीको भेलामा महानिरीक्षक सिंहले विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो इलाकाको सुरक्षा चुनौती विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनको सुरक्षा संवेदनशील विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरण गर्न गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लबमा हुन सक्ने ग्याङफाइटलाई नियन्त्रण गर्न उहाँले निर्देशन दिनुभएको नेपाल प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सबै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।