Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बडादशैंले सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी


13
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैंको पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिनुहुँदै बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादशैं पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन् । “घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने, लिङ्गे पिङ–रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ” सन्देशमा भनिएको छ, “बडादसैँको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।”