काठमाडौं । रुस र युक्रेनबीचको युद्ध भएकाे ७ महिनामा प्रवेश गर्दा युक्रेनी सेनाले सबै भन्दा ठूलो सफलता हासिल गरेको छ ।
युक्रेनको निप्रो नदीबाट अघि बढीरहेको रुसी रेखाहरू पार गर्दै युक्रेनी सेना द्रुत गतिमा अगाडि बढेपछि रुसी सेनापछि हट्न बाध्य भएको हाे । सोही क्रममा धेरै युक्रेनी गाउँहरू पुनः कब्जा गर्न युक्रेनी सेना सफल भएको छ । यो सफलताले पूर्वमा हालैका युक्रेनी सफलताहरूलाई प्रतिबिम्बित गरेको र जसले रुस विरुद्धको युद्धमा लहर बदलेको विश्लेषण गरिएको छ ।
यद्यपि, मस्कोले युक्रेनका केही क्षेत्रलाई आफूमा गाभेर, सैन्य परिचालनको आदेश दिएर र आणविक प्रतिशोधको धम्की दिएर युद्ध जित्ने प्रयास गरेको बुझिएको छ । गत साता रुसले आफूमा गाभेको युक्रेनका ४ क्षेत्रमध्ये कुनैमा पनि रुसको पूर्ण नियन्त्रण नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
युक्रेनी सेना खेर्सोन प्रान्तमा दर्जनौं किलोमिटर अघि बढेको र पूर्वी क्षेत्रमा थप उपलब्धि हासिल गरेको बताइएको छ । हालै रुसी सेनाले रणनीतिक सहर लाइमनबाट आफ्नो नियन्त्रण गुमाएको थियो । युक्रेनी सेनाले महत्वपूर्ण पूर्वी शहर लाइमनलाई आफ्नो कब्जामा लिएको उत्सव मनाउँदा सैन्य असफलतालाई लिएर रुसमा आलोचना समेत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्