
चरीकोट । दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनले जथाभावी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
चरीकोट बजारमा सडक छेउमै बसका टिकट काउन्टर राखिएका छन् । साँघुरो सडक त्यसैमाथि सवारीसाधनको चाप, जिल्ला भित्रिने र बाहिर आवतजावत गर्ने द्वार रहेको बजार क्षेत्रमा मानिसको चाप पनि बढ्दो छ ।
स्थानीय सुन्दर प्रकाश कार्कीले यात्रुलाई प्रतीक्षालयको त परको कुरा, टुसुक्क बस्ने ठाउँसमेत नभएको बताउनुभयो । सवारीसाधन सडकमै अव्यवस्थित रूपमा पार्किङ हुँदा व्यवसायीहरूलाई मात्रै हैन, स्थानीय पैदल यात्रुलाई हिँड्ने ठाउँसमेत छैन ।
जिल्लामा नयाँ बस बर्सेनि थपिँदै छन् तर ती बस पार्किङको व्यवस्था छैन । यातायातका साधन सडकमै पार्किङ गर्न नपाइने कानुनी व्यवस्था छ । बसपार्क नहुँदा सडक दायाँबायाँ र होटल, पसल तथा स्थानीयका घरअगाडि सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको बोलेरो चालक रोशनकुमार केसीले बताउनुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्