
सिन्धुली । सिन्धुली जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले श्रम र सिपको सदुपयोग गरी कारागार भित्रै बाँसको मुढा र कुर्सी बनाएर बिक्री वितरण गरी आम्दानी गरिरहेका छन् ।
विगतमा घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली तथा स्थानीय विभिन्न गैरसरकारी संघ सस्थाहरुले कैदी बन्दीहरुलाई बाँसको सिन्का र नाईलनको डोरीको प्रयोगबाट मुढा र कुर्सी बनाउने सिप सिकाएकाे हाे । त्यसपछि कारागारभित्रै कैदीबन्दीले बाँसको मुढा र कुर्सी बनाएर बिक्री वितरण गर्न लागेका हुन् ।
सिन्धुली कारागारमा कैदीबन्दीको रुपमा जीवन बिताईरहेकाहरुलाई पनि सुधारगृहभित्रै आय आर्जन गराउने उदेश्यले कारागार प्रशासनले बाँसको मुढा र कुर्सी बनाउने सिपमूलक पेश अपनाउन अनुमति प्रदान गरेकाे हाे । जसले कैदी बन्दीहरुलाई बाँसको मुढा र कुर्सी बनाउने सिपमूलक पेशा अपनाउन सहगोग पुगेको हो ।
उनीहरुले बनाएका बाँसको मुढा र कुर्सी बिक्री वितरण गर्नका लागि बाँस र नाईलनको डोरी लगायतका आवश्यक सामग्रीहरु सहयोगीको माध्यमबाट ल्याउने व्यवस्था मिलाईएको छ । कैदीबन्दीहरुले बनाएर मुढा र कुर्चीहरुको बिक्री वितरणको व्यवस्था समेत गरिएको छ । कैदीबन्दीहरुले बनाएका मुढा र कुर्सी बजारमा पाईने मुढाको तुलनामा राम्रो र गुणस्तरीय भएकाे ग्राहकहरुले बताएका छन् । कैदी बन्दीले बनाएका मुढा किन्नका लागि ग्राहकहरुकाे ओईरो लाग्ने गरेकाे छ।
कैदीबन्दीहरुले विभिन्न साईज र आकारका तयार गरिएका मुढा र कुर्सीहरुको मूल्य प्रतिगोटा ५ सयदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको छ । कैदीबन्दीहरुले मुढा र कुर्सी बनाएर मासिक ४ हजारदेखि ६ हजारसम्म सजिलै आम्दानी गरिरहेका छन् ।
सिन्धुली कारागारभित्र कैदीबन्दीका रुपमा जीवन बिताइरहेका करिब २ दर्जन भन्दा बढीले बाँसको मुढा र कुर्सी बनाउने गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्