आजदेखि सहुलियत पसल सुरू « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


आजदेखि सहुलियत पसल सुरू

'खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुने'

273
Shares

काठमाडौं । दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आज शनिबारदेखि सञ्चालनमा आएका छन् । शनिबारदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ ।

काठमाडौं उपत्यकाबाहिर खाद्यसामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् । काठमाडौं उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ । अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्‍याइनेछ ।

सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ । चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिनेछ । साल्टले काठमाडौं उपत्यकाभित्र सतुङ्गल, कालीमाटी, जावलाखेल, जडीबुटी र भक्तपुरबाट छुट दिइनेछ । त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) ले दसैं तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीले जनाएको छ । कम्पनीले दसैंका लागि झण्डै तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी पनि गरेको छ ।