अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गरिने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गरिने


325
Shares

झापा । अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।

मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार सम्पन्न कार्यक्रममा दलहरु प्रमुख तथा सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता महत्वपूर्ण रहेको बताए ।

उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणमा समेत प्रतिवद्धता जनाएका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइयो । कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङगता भएकाहरुबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसदमा अपाङ्गता भएकाहरुको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था भएपनि अपांगता भएकाहरु राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुखद् भएको बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले अगामी निर्वाचनमा अपांगता भएकाहरुलाई पनि समेट्ने विषयमा छलफल अघि बढाउने धारणा राखे । नेकपा एमालेका सचिवालय सदस्य देवराज कार्कीले अपांगता भएकालाई छुटाएर निर्वाचनमा जाँदा समावेशी सिद्धान्त विपरित हुने बताए ।

राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले अपांगताबारे अब बहस मात्र नभई व्यवहारिक पाटोमा ध्यान दिनुपर्ने बताए ।