
काठमाडौं । यस वर्षको युएस ओपन टेनिसको उपाधी स्पेनिस टिनएजर कार्लोस अल्कारेजले जितेका छन् ।
अमेरिकाको न्यूयोर्कमा सोमबार बिहान सम्पन्न फाइनल खेलमा नर्वेका क्यास्पर रुडलाई ३–१ को सेटमा हराउँदै अल्कारेजले करियरमा पहिलो ग्राण्डस्लाम जितेका हुन् । रुडविरुद्धको खेल अल्कारेजले ६–४, २–६, ७–६ र ६–३ को सेटमा जितेका छन् । यो हारसँगै रुडको भने ग्राण्डस्लाम जित्ने सपना अधुरै रहेकाे छ ।
यसअघि फ्रेन्च ओपनको पनि फाइनलमा पुगेका रुड त्यतीबेला पनि उपविजेतामा नै सीमित भएका थिए । यता अल्कारेज भने यो जितसँगै विश्व वरियताको शीर्ष स्थानमा उक्लने भएका छन् । १९ वर्षीय अल्कारेज विश्व बरियताको शीर्ष स्थानमा पुग्ने अहिलेसम्मकै सबै भन्दा कान्छा खेलाडी बन्दै छन् ।
उपविजेता बनेका रुड बरियताको दोस्रो स्थानमा पुग्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्