Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


चीनको अघोषित नाकाबन्दी खुलाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघको हारगुहार

'व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुन थालेको गुनासो'

286
Shares

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनले अघोषित नाकाबन्दी गरेर दुःख दिएको भन्दै सरकारसँग हारगुहार गरेको छ ।

चिनियाँ नाकामा अड्किएको अर्बौंको सामान छुटाउन राज्यले समेत पहल नगर्दा ब्यापारीहरु थप मारमा परेको भन्दै महासंघले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालीहरुको ठूलो चाड दसैं नजिएको तर दसैंमा बेच्नु पर्ने सामान नाकामै रोकिदा अर्बौंका सामान बिग्रने अवस्थामा पुगेको उल्लेख छ ।

महासंघले उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार व्यवसायीले भोग्नु परेको र बजारमा सामानको हाहाकार हुँदा उपभोक्ता पनि मारमा परेको बताएको छ ।

सामान ल्याएर बजारमा पठाउन नपाउँदै बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको भन्दै बैंक वित्तिय संस्थाले दिने तनाबका कारण कतिपय व्यवसायीहरु आत्महत्याको बाटो रोज्न बाध्य हुने अवस्था आएको गुनासो पनि महासंघले गरेको छ ।

यस्तै, बैंकको ब्याजदर नियन्त्रण गर्न पनि सो महासंघले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।