दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022


दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु


91
Shares

कैलाली । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्‍याएको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो । स्थानीयका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताउनुभयो ।

भरतका अनुसार शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । हालसम्म ११ जना बेपत्ता भएको उहाँले जानकारी दिनुभयो ।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धार कार्यका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।