२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पुटिन र म्यानमारको सेना प्रमुखबीच भेटवार्ता


585
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लिङबीच भेटवार्ता भएको छ ।

लामो प्रतीक्षा पछि नेता मिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटक भेटवार्ता गरेका हुन् । जसले दुई प्रतिबन्ध प्रभावित देशबीचको सम्बन्धलाई थप गहिरो बनाउने संकेत दिएको छ । फेब्रुअरी २०२१ मा म्यानमारको निर्वाचित सरकारबाट सत्ता कब्जा गर्ने मिन आङ ह्लाइङले कू पछि दुई पटक रूसको भ्रमण गरिसकेका छन् ।

रुसको पूर्वी सहर भ्लादिभोस्टोकमा भएको वार्तामा दुई देशबीचको सम्बन्धका विषयमा सकारात्मक छलफल भएको रुसी राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्तामा पर्यटन र तेल तथा ग्यास व्यापार प्रवद्र्धन गर्न दुई देशबीचको सीधा उडानलगायत बृहत् आर्थिक सहयोगलाई पनि समेटिएको थियो ।

दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा भेटावार्ता भएको जनाइएको छ । म्यानमारले अगस्टमा आपूर्ति संकट कम गर्न रुसी इन्धन तेल आयात गर्ने योजना घोषणा गरेको थियो । म्यानमार इन्धन आयातका लागि रुसी रुबलमा तिर्न तयार भएको जनाइएको छ । रुसी सैन्य समर्थन, विशेष गरी वायुसेना र सशस्त्र समूहहरू, साथै राजनीतिक स्वायत्तताको लागि लडिरहेका थप स्थापित जातीय सशस्त्र संगठनहरूबाट प्रतिरोधलाई दबाउन यो भेटवार्त महत्वपूर्ण भएको आंकलन गरिएको छ ।

रुस म्यानमारलाई हतियार आपूर्ति गर्ने तीन राज्यहरू मध्ये एक हो । यसका साथै चीन र सर्बियाले पनि म्यानमारलाई हतियार आपूर्तिमा सहयोग गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।