२३ मंसिर २०८१, आइतबार | Sun Dec 8 2024


मोरङमा मलको हाहाकार, धानमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान


26
Shares

विराटनगर । सरकारले समयमै आपूर्ति नगर्दा मोरङमा रासायनिक मलको हाहाकार भएको छ ।

किसानले धानबालीमा अहिलेसम्म मल हाल्न पाएका छैनन् । पर्याप्त मल नआएकाले बितरणमा समेत समस्या भएको छ । मल हाल्न नपाउँदा धालबाली बिग्रन थालेको मोरङका किसानको गुनासो छ ।

मोरङ बुढी गंगा –४ का किसान देवी उप्रेतिले मल अभावका कारण बालि बिग्रन थालेको गुनासो गर्नुभयो । उहाँले बिग्रिएको धानको वोट जाँच गर्दा मलखादको मात्रा नमिलेको रिपोर्ट आएको तर, मल लिन आउँदा सरकारी निकायहरूले एकले अर्कोलाई पन्छाउने गरेको उहाँले बताउनुभयो ।

मल नहाली धान उत्पादन नहुने सरकारले मल दिन नसक्ने अवस्थाले किसान मर्कामा परेको विराटनगर ११ का किसान ओमप्रकाश कामतले बताउनुभयो । उहाँले समयमा मल समेत नदिएर किसानलाई सरकारले मर्कामा पारेको गुनासो गर्नुभयो ।

मलको माग धेरै रहेको तर, मलको उपलब्धता एकदमै न्यून रहेका कारण बितरणमा समस्या भइरहेको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरका सुचना अधिकारी विष्णुप्रसाद न्यौपानेले माग अनुसारको आपूर्ति गर्न नसकिएको बताउनुभयो ।

न्यौपानेका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरले आर्थिक वर्ष ०७७/७८ मा २१ हजार ७ सय ७१ मेट्रिकटन मल बितरण गरेकोमा आर्थिक वर्ष ०७८/७९मा १० हजार ६ सय ४ मेट्रिकटन मात्रै मल बितरण गरेको छ । अघिल्लो वर्षको तुलनामा आधा मात्रै मल प्राप्त भएका कारण किसानले माग अनुसार मल पाउन नसकेको उहाँले बताउनुभयो ।

तत्कालै मल उपलब्ध नभए धान उत्पादनसमेत प्रभावित हुने किसानहरू बताउँछन् । पूर्वी तराईका जिल्लाहरूमा धान रोपाइँ गर्दा ५० प्रतिशत युरिया र ५० प्रतिशत डिएपी मिसाएर खेतमा लगाउने प्रचलन छ । तर, रोपाइँ पछि भने धानमा युरिया मल मात्रै लगाउने गरिन्छ । यहि कारण यतिबेला किसानहरूलाई ठूलो परिमाणमा युरिया मल आबश्यक रहेको छ ।

तर, सरकारले पर्याप्त मल आयात गर्न नसक्दा किसान मर्कामा परेका छन् । प्रदेश १ मा ३ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेति गरिंदै आएको छ । कृषिलाई प्राथमिकता दिने सरकारको नीति व्यवहारमा नदेखिँदा हरेक वर्ष किसानहरूले मलको चर्को अभाव झेल्न बाध्य हुनुपरेको छ ।