
बैतडी । सुदूरपश्चिममा आज (शुक्रबार) ठूली गौरा पर्व मनाइँदै छ ।
व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाहरुले बिहानै नुहाएर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ ।
आज अमुक्ताभरण सप्तमीका दिन व्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका फुनडी विष्टले बताउनुभयो । गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको छ ।
व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आजको गौरादेवीमा चढाएको दुबधागोलाई शनिबार दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी व्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।
गौराको मुख्यदिन शनिबार दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।
त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । तागाधारी पुरुषहरुले जनै धारण गरे जस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।
गौराको समयमा सामूहिक रुपमा देउडा, ठाडो खेल, ढुस्को र धमारी लगायतका सांस्कृतिक खेलहरु पनि खेलिने गरिन्छ ।
यसैबीच प्रदेश सरकारले ठूली गौरा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्