२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


कागजका तस्विरलाई ढुंगाको मूर्तिमा रुपान्तरण गर्ने शिल्पी पेशा संकटमा


0
Shares

डडेल्धुरा । कागजमा भएका तस्बिरलाई ढुंगाको मूर्तिमा रुपान्तरण गर्ने डडेल्धुराका शिल्पीहरुको पेशा संकटमा परेको छ ।

शीपमूलक यो पेशाप्रति युवा वर्गको आकर्षण नहुँदा संकटमा परेको हो ।

पेशालाई व्यावसायिक बनाउने, प्रवद्र्धन गर्ने र क्षमता अभिवृद्धिमा कसैले चासो नदिएपछि शिल्पीहरुको पेशा संकटतर्फ उन्मुख भएको हो ।

डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ४ दलित बस्तीका शेरबहादुर विश्वकर्माको चारभाई परिवारले ढुंगाको मूर्ति कोरेर करिब २५ जनाको परिवारको निर्वाह धानिरहेका छन् ।

बोल्न नसक्ने अपांगता भएका जेठो भाई हरि कामीसहित सबै भाईले हिन्दु धर्मावलम्बीले पुज्ने गरेका विभिन्न देवीदेवताका मूर्तिहरु र वाहनहरु, सजावटका विभिन्न आकृतिलगायत सामान निर्माण गर्दै आएका छन् ।

त्यसैगरी समाजमा योगदान दिएका विशेष व्यक्ति र दुर्घटनामा परि निधन भएकाहरुको शालिक उनीहरुले बनाएर कला प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले आफ्नो कला सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी र दार्चुलामा समेत पुर्‍याउँदै आएका छन् ।

स्थानीय खोलाका ढुंगा तथा आरनका लागि आवश्यक पर्ने विभिन्न सामग्री संकलन गरी आफ्नै शीप र मेहनतले तयार पारेका यस्ता मूर्तिबाट उनीहरुले खर्च जोहो गर्दै आएका छन् ।

तर युवा पुस्तामा यो पेशाप्रतिको आकर्षण नदेखिँदा उनीहरु चिन्तित छन् । सरकारीले पनि शीपको सम्मान गर्न नसकेको उनीहरु बताउँछन् ।