५ असार २०८१, बुधबार | Wed Jun 19 2024


एमालेद्वारा निर्वाचन परिचालन सचिवालय गठन, ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति


299
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबार बसेको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ४ सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो । कमिटीको सचिवको जिम्मेदारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर निर्वाचनकेन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेको छ । परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहनुभएको छ ।

एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदन गरेको थियो । एमालेले अध्यक्ष ओलीकै संयोजकतवमा घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ ।