अवैध संरचना हटाउने क्रम जारी « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


अवैध संरचना हटाउने क्रम जारी


312
Shares

 काठमाडौं । काठमाडौं महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ ।

नक्सा पास नगरि बनाइएका संरचना महानगरले डोजर लगाएर भत्काएको हो । ढुङ्गेधारामा अवैध रुपमा घरटहरा बनेका र हटाएको महानगरपालिकाले जनाएको छ । महानगरका मेयर बालेन्द्र शाहले गएको बुधबार नै अवैध रुपमा बनाएका संरचना हटाउन निर्देशन दिनुभएको थियो ।

यसअघि महानगरले बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधबार काठमाण्डौ मल अगाडिको संरचना हटाएको थियो । काठमाण्डौ महानगरपालिकाले अनाधिकृत संरचना हटाउने अभियान अन्तरगत शुक्रबार त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो ।

महानगरपालिकाले गएको सोमवारदेखि नक्सा विपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि त्यहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान थालेको हो ।

अभियान अन्तरगत बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल, आरबी कम्प्लेक्सका १४ साना पसल र अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइ सकिएको छ । आनाकानी गर्दै आए अरु ठाउँका संरचनामा पनि डोजर चलाउन महानगर बाध्य हुने महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभएको छ ।

अहिले बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यस अभियानबाट पार्किङको समस्या कम भएसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरपालिकाले विश्वास लिएको छ ।