Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन होस्ः संयुक्त राष्ट्रसंघ


0
Shares

काठमाडौं, जृठ १४ । नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

शनिबार अन्तरजातीय विवाहको विषयमा ४ जनाको हत्या र २ जनाको बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घटनाले नेपालमा जातीय विभेद कायमै रहेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास गर्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी चारजना युवाले ज्यान गुमाएका छन् भने दुईजना अझै बेपत्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथिहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज पनि मारिएका छन् । यो घटनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय विभेद र मानवताविरोधी अपराधका रुपमा चित्रण गरेका छन् ।