काठमाडौं, जेठ १४ । नेपाली सेनाले देशमा आगामी असार, साउन महिनामा कोरोनाभाइरसको संक्रमण तीव्र हुने बताएको छ ।
सैनिक मुख्यालयमा बुधबार भएको अनलाइन पत्रकार सम्मेलनमा सेनाका चिकित्सक डा. नविन फुयालले गणितीय विश्लेषणको आधारमा असार, साउनमा संक्रमितको संख्या उच्च हुने अनुमान गरिएको बताए ।
उनले सोहीअनुसार रोकथाम, नियन्त्रण र उपचारको तयारी गर्नुपर्ने पनि बताएका छन् ।
सो अवसरमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले संक्रमितको संख्या बढ्ने अनुमान गरेरै सेनाले सरकारसँग मिलेर नियन्त्रणको तयारी गरिरहेको भन्दै कोरोनाबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन अब कार्यविधिअनुसार हुने बताए ।
विदेशबाट आउने नेपालीहरुको सन्दर्भमा कोरोना क्राइसिन म्यानेजमेन्ट कमिटीले योजना तयार पारेको र सोहीअनुसार गरिने पनि पाण्डेले बताए ।
सेनाले चीनबाट खरिद गरेको कोरोना परीक्षण उपकरणहरु स्थलमार्ग हुँदै तातोपानी आइपुगेको र बाँकी सामग्री लिन नेपाल वायुसेवाको विमान बुधबारै चीन गएको पनि जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजना २०८१ सालको असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी पनि दिइयो ।
आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले आयोजनाको दोस्रो चरणमा ११ ओटा ‘क्लस्टर’ बनाएर काम अघि बढाइने र यसमा पुल र टनेल बनाउनु मुख्य रहेको बताए ।
दक्षिण कोरियाको योसिहिन इन्जिनियरिङ कर्पोरेसन अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा छनोट भइसकेको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्