एकीकरणका नाममा बिद्यालय बन्द भएपछि गाउँनै छोड्नु पर्ने अवस्था « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


एकीकरणका नाममा बिद्यालय बन्द भएपछि गाउँनै छोड्नु पर्ने अवस्था


6.89k
Shares

काभ्रे । ललितपुरको महांकाल गाउँपालिका–४ नकण्डोलका ११ घरपरिवारले वालवालिकालाई पढाउनकै लागि आफ्नो गाउँ छाडेका छन् ।
विद्यालय एकीकरणका नाममा आहालडाँडामा रहेको जनजागृति प्रावि बन्द भएपछि उनीहरु शहर पसेका हुन् । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाई हुन्थ्यो । अर्को विद्यालय जान आहालडाँडाबाट एक घण्टाभन्दा धेरै पैदल हिड्नुपर्ने बाध्यता भएपछि अभिभावकले बालबालिकालाई एक्लै विद्यालय पठाउन सकेनन् ।

‘दारी बा’ को नामले चिनिले टुक्रप्रसाद घिमिरे अहिले नाती/नातिना पढाउनकै लागि वर्षौदेखी बस्दै आएको जन्मभूमी छाडेर शहर पस्नुभएको छ ।

गाउँपालिकाले माग सम्बोधन नगरेपछि आफू नाती /नातिना पढाउन जन्मथलो छोडेर उनीहरुको भविष्यका लागि काभ्रेको पनौती पुग्नुपरेको घिमिरेको गुनासो छ । आफ्नो घर छोडेर डेरामा बस्नुपर्ने बाध्यता आइलागेको घिमिरेको भनाई छ । गाउँको सरकारी बिद्यालय बन्द नभएको भए खर्च जोगिन्थ्यो तर अहिले डेरामा बस्नुपर्ने बाध्यता त छँदैछ, त्यसमा पनि फेरि एक नाती र एक नातिनीलाई नीजि बिद्यालयमा पढाउदा खर्च बढ्ने उहाँ बताउनुहुन्छ ।

घिमिरेसहित महांकालका ७ परिवारले विद्यालय जान बालबालिकाले डेड घण्टाको पैदल हिँड्नुपर्ने भन्दै पटक–पटक स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए । तर उनीहरुको माग गाउँको सिंहदरबार भनिने वडा कार्यालय, गाउँपालिका कार्यालय कसैले पनि नसुनेपछि उनीहरुले गाउँ छाड्नु परेको छ । आफ्ना सन्तान पढाउँन गाउँ छाड्नु परेसँगै जडीबुटी पाठशाला बनाउने घिमिरेको सपनामा धक्का लागेको छ । उहाँले २०६७ देखी व्यवसायिक रुपमा चिया खेती गर्दै आउनुभएको थियो । उहाँको फार्ममा चियासँगै लौंठ सल्ला, तेजपत्ता, दालचिनी लगायतका जडिबुटी छन् । त्यही फार्मलाई जडिबुटी प्रयोगशाला बनाउने घिमिरेको योजना थियो । कृषिमा रमाउने बानी परिसकेका घिमिरेलाई त्यसै बसिरहन मनले मानेन । अहिले पनौतीमा जग्गा भाडामा लिएर उहाँले कृषि कर्म सूरु गर्नुभएको छ । बसोबास पनौती भएपनि घिमिरेको मन भने गाउँमै अडिएको छ ।स्थानीयको पीडा गाउँको सिंह दरबारले नसुनेको उहाँको गुनासो छ । हामी गाउँले आफैं पैसा उठाएर शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्छाै, शिक्षक राख्दिनुस् विद्यालय बन्द नगर्नुस भन्दा पनि गाउँपालिकाले नमानेको उहाँको भनाई छ ।

आफ्नो गाउँमै सन्तानलाई शिक्षा दिन नपाएर शहर झर्नुभएका घिमिरे आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भोट हाल्न गाउँ नफर्कने सोचमा हुनुहुन्छ । जो नेतृत्वमा आएपनि जनताका लागि कसैले केहि नगरेको उहाँको गुनासो छ । स्थानीय सरकारले समयमै स्थानीयका समस्याका बारेमा चासो नदिँदा आफूहरु विस्थापित हुनुपर्दा पीडा भएको घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि उक्त गाउँमा ९ जना बालबालिका विद्यालय जाने उमेरका छन् तर विद्यालय नजिक नहुँदा उनीहरु समस्यामा परेका छन् ।