२८ वर्षपछि न्याय माग्दै बलात्कृत आमाबाट जन्मिएका छोरा, मिल्यो डीएनए « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


२८ वर्षपछि न्याय माग्दै बलात्कृत आमाबाट जन्मिएका छोरा, मिल्यो डीएनए


7.761k
Shares

एजेन्सी । एक भारतीय महिलाले बलात्कारको २८ वर्षपछि आफूविरुद्ध भएको घटनाको उजुरी दिएकी छन् । भारतको उत्तर प्रदेशकी एक महिलाले आफू १२ वर्षको हुँदा छिमेकी दुई भाइले बलात्कार गरेको बताएकी हुन् ।

घटनाक्रम
सन् १९९४ मा शाहजहांपुर शहरमा भएको घटनाका आरोपी रजी र उनका दाइ नकी हसन पीडितका छिमेकी थिए । घरमा कोही नभएको मौका पारेर दुई दाजुभाइ घरमा आउने र मारपिट गर्दै बलात्कार गर्ने पीडितको भनाइ छ ।

यो क्रम ६ महिनासम्म जारी रहेपछि पीडितको स्वास्थ्यमा समस्या देखिन थाल्यो । अस्पताल लगेपछि उनीमाथि बलात्कारबारे खुलासा भयो । बालिकाको अवस्था हेरेपछि डाक्टरले गर्भपतन गर्न मानेनन् । बालिकाले छोरो जन्माइन् तर उसको अनुहारसमेत हेर्न नदिइ अर्कैको पालनका लागि छोड्नुपरेको उहाँको भनाइ छ ।

‘मैले यो बच्चाको लागि धेरै कुरा सहेको थिएँ तर मलाई अनुहारसमेत हेर्ने मौका दिइएन,’ उनले भनिन्, ‘मैले आमासँग सोध्दा उहाँले दोस्रो जीवन सुरु गर्नुपर्ने बताउनुभयो ।’

पीडित परिवारलार्ई घटनाको बारेमा अन्त खबर गरे ज्यान मार्ने धम्की दिएसँगै उनीहरू मौन थिए । एकपटक बलात्कारको बारेमा मुख खोले पनि उनीहरूको घरमा आगो लगाइएको थियो । बलात्कार र दुई व्यक्तिका कारण आफ्नो पढाइ छुटेको र प्रहरी बन्ने सपना टुटेको उनी बताउँछिन् ।

न त उनीहरू पुलिसमा नै जान सक्थे, न त समाजमा ठाडो शीर पारेर हिँड्न । अब विकल्प एउटै थियो शहर छोड्नु । उनीहरू उत्तर प्रदेशकै रामपुर जिल्लामा बसाइ सरे । सन् २००० मा पीडितको विवाह भयो, दोस्रो बच्चा पनि जन्मियो ।

तर, विवाहको ६ वर्षपछि पीडितका श्रीमान्लाई घटनाबारे थाहा भयो । उनले श्रीमातीलाई नै घटनाको दोषी ठहर गर्दै छोरासहित घरबाट निकालिदियो । घरबाटै निकालिएपछि उनी आफ्नो बहिनी र उनको परिवारसँग बस्न थालिन् ।

छोरालाई पहिचानको समस्या
समस्या पीडित महिलालाई मात्र थिएन, बलात्कारबाट जन्मिएको छोरोलाई पनि उत्तिकै थियो । उसले आफ्नो पहिचानको लागि भेदभावको सामना गर्नुपर्यो । घटनाको १३ वर्षपछि पाल्न भनेर लगेका मातापिताले उसको आफ्नै आमालाई छोराको जिम्मा लगाए ।

छोरा आफ्नो साथमा पाएपछि आमा खुसी हुने भइन् नै । तर छोराको मेरो बुवा को हो ? भन्ने प्रश्नले उनलाई दैनिक पोलिरहन्थ्यो । उनी आफ्नो सच्चाइ भन्न सक्थिनन् । बुवाको अत्तोपत्तो नभएसँगै विद्यालयमा पनि उनको कुनै थर थिएन । जसकारण विद्यालयमा पनि उनी अपहेलित हुनुपर्यो ।

आफू नामहीन जीवन जिउन नसक्ने भन्दै उसले आफ्नी आमालाई बुवाको बारेमा सोधिरह्यो । केही विकल्प नभेटेपछि उसले नाम नभने आत्महत्या गर्ने धम्की दियो । अन्ततः आमाले आफूमाथि भएको घटनाबारे छोरालाई बेलिविस्तार लगाइन् ।

घटनाबारे जानकारी पाएपछि छोराले आमाको न्यायको लागि लड्ने अठोठ गर्यो । छोराले दिएको आत्मविश्वास र उत्प्रेरणाले आमामा पनि केही आत्मविश्वास आयो र उनीहरू सन् २०२० मा घटना भएको स्थल शाहजहांपुर गए ।

न्यायको लडाइँ
घटना भएको लामो समय भएकाले प्रहरीले उजुरी दर्ता गर्नै मानेन । तर वकिलले भने मुद्दा लिए । आरोपी आफैँले पत्ता लगाएर वकिलकोमा गएका कारण पनि वकिलले मुद्दा लिएका थिए । उनीहरूले प्रमाण आफूहरूले ल्याउने तर मुद्दा लिगिदिन बिन्ती बिसाएका थिए ।

सोहीबमोजिम वकिलले शाहजहाँपुरको मुख्य न्यायिक दण्डाधिकारीको आदेशमा मार्च २०२१ मा अदालतमा दुई आरोपीविरुद्ध मुद्दा दायर गरे । मुद्दा दायर भएसँगै आरोपीहरू पनि समातिए । तर उनीहरूसामू केही पनि प्रमाण थिएन । त्यसका लागि डीएनए परीक्षण गर्ने तय भयो ।

प्रहरीका अनुसार अहिले डीएनए परीक्षणबाट भने प्रमाण जुटेको छ । आरोपीमध्ये एकको डीएनए नमूना बलात्कारबाट जन्मिएको छोरोको डीएनएसँग मिलेको छ । अहिले दुवै आरोपी हिरासतमा छन् । उनीहरूले आफूहरूमाथि लागेको आरोपबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।

पीडित महिलाले अपराधीहरूलाई कानूनी कठघरामा उभ्याउनका लागि र समाजमा हुने सयौं घटनालाई रोक्नका लागि भएपनि आफूमाथि भएको घटनाबारे बोल्न अपिल गरेकी छन् । प्रहरीकोमा गएपछि केही न केही उपाय निस्कने उनको भनाइ छ ।
बीबीसी