स्थानीयको आन्दोलनपछि नख्खु–भैंसेपाटी सडक निर्माण आजबाट « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


स्थानीयको आन्दोलनपछि नख्खु–भैंसेपाटी सडक निर्माण आजबाट


468
Shares

ललितपुर । ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का, वडा नं. २५ का वडा अध्यक्ष दौलतकुमार खत्री र स्थानीयवासीसहितको बसेको बैठकले आजबाट काम गर्ने लिखित सहमति भएको हो ।

स्थानीयले शनिबारदेखि दैनिक तीन घण्टा बाटो बन्द गर्ने पूर्वघोषित कार्यक्रमअनुसार आइतबार बाटो बन्द गरी विरोध जनाएलगत्तै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सरोकारवाला निकायलाई बैठकमा बोलाउनुभएको थियो । प्रजिअ उपाध्यायले नेपाल प्रहरी, सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझा, वडाअध्यक्षद्वय र स्थानीयवासीलगायतको बैठकमा आज सोमबारबाट काम शुरू गर्ने गरी लिखित सहमति भएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

सो बाटोको विषयमा अघिल्लो आर्थिक वर्षमा पनि ५ पटक वार्ता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘निर्माण कम्पनीबीचको आन्तरिक समस्याका कारण त्यसबेला बाटो निर्माण हुन सकेको थिएन । अब दशैंअघि कालोपत्रे हुनेगरी सबै काम सम्पन्न गर्ने सहमति भएको छ ।’ सबै सरोकारवालाको बीचमा भएको लिखित सहमति कार्यान्वयन नभए कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै प्रजिअ उपाध्यापले भन्नुभयो– ‘आजबाट शुरू गरी दशैंअघि काम सम्पन्न गर्नेगरी भएको सहमति कार्यान्वयन गर्नेपर्छ । कम्पनीले खाल्डाखुल्डी पुर्ने र पेटी निर्माण शुरू गर्ने जनाएको छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।