२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


बद्लिँदो नेपाली समाजअनुसार नै कानुन निर्माण : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले देवानी र अपराध संहिताका कार्यान्वयनकाक्रममा अप्ठ्यारो आए संशोधन गरेर अनुकूल बनाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार (भोलि)देखि कार्यान्वयनमा आउने देवानी र अपराध संहिता अहिले जस्तो बनेको छ, सोहीअनुसार लागू हुने र समस्या आएपछि समाधान गर्दै जाने बताए ।

मुलुकी देवानी र फौजदारी संहिता ऐन कार्यान्वयनको पूर्वसन्ध्यामा कानुन समाज नेपालले बिहीबार ललितपुरमा गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले बद्लिँदो नेपाली समाजअनुसार नै पाँचओटा कानुन निर्माण गरिएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकी संहिताबारे आमनागरिकलाई जानकारी गराउन जनप्रतिनिधि निकाय, सरोकारवाला निकाय र सरकार सजक रहने बताए ।

कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले परिवर्तित कानुन कार्यान्वयनमा जटिल भएपनि सफलताका साथ कार्यान्वयन गर्न सर्वोच्च अदालत तयार रहेको बताए ।

यस्तै, पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले देवानी र अपराध संहिता ऐनबारे जनतालाई छिटो सुसुचित गर्न सरकारलाई आग्रह गरे ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा कानुनी राज्यको नयाँ युग सुरुआत भएको धारणा राखे ।

कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले यो कानुन संविधानपछि सबैभन्दा बढी मिहिनेत गरेर निर्माण गरिएकाले कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने धारणा राखे ।