
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, साउन ३१ । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगोलागी हुँदा २१ महिनाकी एक बालिकाको जलेर मुत्यु भएको छ ।
छोरीलाई बचाउनेक्रममा उनकी आमा पनि गम्भीर घाइते भएकी छन् ।
बिहीबार घरमा आगोलागी हुँदा अविनारायण राईकी छोरी सुमिता राईको जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
आमा कमलाले छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी थिइन् । बाबु अविनारायण अलैंचीबगानमा काम गर्न गएका थिए ।
घरमा आगो लागेको थाहा पाएर फर्कंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउनेक्रममा आमा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
आगोले जलेर गम्भीर घाइते भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घर एकान्तमा रहेको र स्थानीयलाई घटनास्थल पुग्न समय लागेकाले आगो तत्काल नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाइ छ ।
आगोलागीबाट दुईतले घर जलेर नस्ट भएको छ । मानवीय क्षतिसँगै करिब ७ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्