गर्मीले कहालिँदै विश्व, बेलायतमा राष्ट्रिय संकटकाल घोषणा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


गर्मीले कहालिँदै विश्व, बेलायतमा राष्ट्रिय संकटकाल घोषणा

चीनको तापक्रम पनि ४० डिग्रीभन्दा माथि

3.757k
Shares

काठमाडौं । मौसम सामान्य हुन्थ्यो भने यतिबेला असार साउनको झरीसँगै काठमाडौंको तापमान ह्वात्तै घटेको हुनुपथ्र्यो । तर, हावापानीका दृष्टिले सधैं सन्तुलित हुनुपर्ने काठमाडौं उपत्यकामा उखरमाउलो गर्मी छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार ३२ दशमलव ३ डिग्री रेकर्ड गर्‍यो । नेपाल मात्र हैन, यतिबेला विश्व नै अस्वाभाविक गर्मीको चपेटामा छ ।

विश्वका कयौं राष्ट्र अहिले गर्मीको चपेटामा पर्दा जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर जान थालेको छ ।

डढेलो नियन्त्रणमा लिन हजारौंको संख्यामा अग्नीनियन्त्रक, हेलिकप्टर र उद्धारकर्मीहरू अहोरात्र खटिए पनि आगो नियन्त्रणमा लिन हम्मे परेको छ । जुलाई महिना त उच्च तापक्रमका दृष्टिले विश्वकै लागि अभिषाप सावित भयो ।

गर्मीको ताण्डव यतिबेला युरोपेली मुलुक पोर्चुगलमा लगायत देशमा परेको छ । त्यहाँ गर्मीकै कारण २ सय ५० बढीले ज्यान गुमाइसकेका छन् । गर्मीकै कारण जनजीवन अस्तव्यस्त बनेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ ।

बेलायतका विभिन्न शहरमा तापक्रम ४१ डिग्रीमाथि पुग्ने भन्दै नागरिकलाई सचेत हुन आव्हान गरिएको छ । युरोपमा गर्मीको लहर बढेसँगै भू–मध्यसागरमा भयावह डढेलो फैलिएको छ, जुन नियन्त्रण बाहिर गएको छ ।

गर्मीले स्पेन, फ्रान्सको अवस्था पनि कहालीलाग्दो बनेको छ । गर्मीसँगै फैलिएको डढेलो कारण युरोपका ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । त्यतिमात्र हैन, अपेक्षित तापमानले जनावरको दैनिकीसमेत प्रभावित भएका छन् ।

मानव–प्रेरित जलवायु परिवर्तनको कारण गर्मीको लहर लगातार तीव्र र लामो समयसम्म रहने गरेकोे छ । औद्योगिक युग सुरु भएदेखि नै विश्वमा लगभग १.१ डिग्री सेल्सियसले तापक्रम बढेको छ ।

विश्वभरका सरकारले कार्बन उत्सर्जनमा सामुहिक प्रतिवद्धता नजनाएसम्म तापक्रम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन् । चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन नागरिकलाई सूचित गरेको छ ।

चीनको सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अरू क्षेत्रहरूमा ३५ डिग्री सेल्सियस बढी तापक्रम हुने भन्दै सबैलाई सचेत रहन अपील गरेको छ । शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसमाथि पुग्ने केन्द्रको प्रक्षेपण छ ।

केन्द्रले आफ्ना नागरिकलाई घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारलाई आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न सुझाव दिएको छ ।

नेपालमा बढ्दो तापमानले जनजीवन अस्तव्यस्त मात्र भएको छैन, वर्षभरि हातमुख जोर्ने रोपाइँ समेत प्रभावित भएको छ ।चिकित्सकहरूले रोगको संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी स्वास्थ्यप्रति सचेत रहन नागरिकलाई आग्रह गरेका छन् ।

एजेन्सीकाे सहयाेगमा