३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


संघीय निजामती सेवा ऐन जारी गर्न नवलपरासीका कर्मचारीको माग


169
Shares

परासी । सरकारी सेवामा कार्यरत नवलपरासीका निजामति कर्मचारीहरूले संघीय निजामती सेवा ऐन जारी गर्न सरकारसँग माग गरेका छन् ।

जिल्लामा रहेका निजामती कर्मचारी आवद्ध विभिन्न संघ संगठनहरूले सोमबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै संसदको चालु अधिवेशनबाट ऐन जारी गर्न माग गरेका हुन् ।

जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ ।

मुलुक संघीय व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागि तीनै तहको कर्मचारी प्रशासन व्यवस्थापन एंव मार्ग दर्शन गर्ने छाता कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुनु गम्भीर चिन्ताको विषय भएको ज्ञापन पत्रमा उल्लेख छ ।

यसअघि राष्ट्रियस्तरका ट्रेड युनियनबाट दिइएका सुझाव र अन्य सरोकारवालाहरूको सहभागितामा ऐन निर्माणको प्रक्रियामा अघि बढाइ चालु संसद अधिवेशनबाट ऐन जारी गर्न उनीहरूले माग गरेका छन् ।

ऐन जारी नभए कडा संघर्षमा उत्रनेसमेत उनीहरूले ज्ञापन पत्रमार्फत् सरकारलाई चेतावनी दिएका छन् ।