Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


अब चुनावमा पार्टीको उम्मेदवार काठमाडौंले छान्दैन : सभापति थापा


0
Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो प्रश्ताव गर्नुभएको भएको हो ।

निर्वाचन प्रक्रियाका लागि जुन ठाउँको उम्मेदवार छान्नुपर्ने हो सोही ठाउँका सदस्यले छान्न पाउनुपर्ने उहाँको प्रश्ताव छ । उहाँले पार्टीमा सबैभन्दा बलियो सभापति नभई पार्टी सदस्य हुनुपर्ने गरी पार्टीको अगामी नीति र कार्यदिशा तय गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीको सभापति समेत महाधिवेशनबाट नभई पार्टीका सम्पूर्ण सदस्यले छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । सभापति थापाले पार्टीको कार्यकारी समितिले गरेको निर्णयलाई पार्टी सदस्यले अनुमोदन गर्ने व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले महाधिवेशन सम्पन्न भइसकेपछि सबैको सदस्यता अद्यावधिक गर्नेतर्फ जानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीमा सबैभन्दा बलियो सभापति बन्नु हुँदैन । पार्टीको भूइँतहको सदस्य सबैभन्दा बलियो हुनुपर्छ । काँग्रेस भनेको क्रियाशील सदस्यता लिएको मान्छे मात्र होइन ।

काँग्रेसको सदस्यता नलिएको तर काँग्रेसलाई माया गर्ने मानिसहरुले आफूले चाहेको बेला पार्टीलाई आफ्नो कुरा भन्न पाउनुपर्छ । हामीले थोरै मान्छेले एक अर्कालाई छानेर नेतृत्वमा आउने काम गर्यौँ । यसलाई फुकाऔँ अब, यो प्रक्रियालाई तल लैजाऔँ । मैले यसमा केही कुरा भनेको छु । एउटा, अब चुनावको उम्मेदवार काठमाडौंले छान्दैन । अब जुन ठाउँको उम्मेदवार छान्ने कुरा त्यहीँ ठाउँको पार्टी सदस्यसँग रहन्छ । पार्टीको सदस्यलाई बलियो बनाऔँ । र पार्टीको नीति निर्माणमा पनि पार्टीको समितिले कुनै निर्णय गर्यो । तर निर्णय गर्ने अधिकार पार्टीको समितिसँग मात्र रहनु हुँदैन । तल्लो तहको कार्यकर्ताले पनि निर्णय प्रक्रियामा भाग लिन पाउनुपर्छ । त्यसकारण हामीले यो महाधिवेशन सकिसकेपछि सबैको सदस्यता अद्यावधिक गरौँ । त्यसो गर्दा हामीसँग आठ लाख कार्यकर्ताको रेकर्ड हुन्छ । अब चुनावको उम्मेदवार छान्नको लागि ढ्वाङ थाप्नु पर्दैन ।’

उहाँले अब चुनावमा उम्मेदवार बन्नको कुनै नेतासँग ढ्वाङ थाप्नु नपर्ने समेत बताउनु भयो ।