कर्णालीका बालबालिकामा कुपोषण समस्या बढ्दै « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


कर्णालीका बालबालिकामा कुपोषण समस्या बढ्दै


91
Shares

काठमाडौं । कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ ।

प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउन प्रयास गरे पनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन ।

कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा ६ सय ५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा दैलेखमा मात्रै ५ सय ७८ र सुर्खेतमा ४ सय बालबालिका कुपोषण लागेर अस्पताल भनाए भएका थिए । मुगुमा चालु आर्थिक वर्षमा ९१ बालबालिकामा कुपोषण देखिएको छ ।

जाजरकोटको बारेकोटमा मासिक आठदेखि १० बालबालिकामा कुपोषण देखिने गरेको बारेकोट लिम्सास्थित स्वास्थ्य संस्थाकी स्वास्थ्यकर्मी कल्पना रोकायले जानकारी दिनुभयो । कर्णालीका बालबालिकामा कुपोषणबाहेक रक्तअल्पता, ख्याउटेपन र कम तौलको समस्या बढेको छ ।

कर्णालीमा १५ देखि ४९ वर्ष उमेरका ३५ प्रतिशत महिला र ४८ प्रतिशत बालबालिकामा रक्तअल्पता भएको पाइएको छ । कम तौल ३६ प्रतिशत र ख्याउटेपन आठ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँका ४८ प्रतिशत महिलामा रक्तअल्पताको समस्या छ । पाँच वर्षमुनिका ५५ प्रतिशत बालबालिका अधिक पोषण, न्यून पोषण, मोटोपन, पुड्केपन, ख्याउटे, कम तौल र सुकेनासजस्ता समस्याबाट ग्रसित छन् ।

कर्णालीका २९ दशमलब ५ प्रतिशतले मात्रै खानामा विविधता उपभोग गर्न पाएको निर्देशनालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले गत वर्ष २५ बुँदे घोषणापत्र तयार गरी कर्णाली प्रदेशलाई पोषणयुक्त प्रदेश घोषणाका लागि कार्ययोजना र प्रतिबद्धता गरेको थियो ।