Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सत्तारुढ नेकपाका दुवै पक्ष शनिबार बस्ने बैठकको तयारीमा


0
Shares

काठमाडौं, वैशाख १९ । सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ ।

गत बुधबार बसेको बैठकले शनिबारको बैठकबाट अहिले उत्पन्न परिस्थितिको छिनोफानो गर्ने भनेकाले शनिबारको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

दुवै पक्ष आ–आफ्नो तयारीमा लागेका छन् ।

शुक्रबारमात्रै नेताहरुबीच विभिन्न स्थानमा छलफल भएका छन् ।

शुक्रबार दिउँसो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ भने शुक्रबार अपराह्न दाहाल र नेता माधवकुमार नेपालबीच कोटेश्वरस्थित नेपाल निवासमा छलफल भएको छ ।

दाहाल र नेपालबीच शनिबारको बैठकमा प्रस्तुत हुने रणनीतिको विषयमा छलफल भएको बुझिएको छ ।

गत बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब परेको थियो ।

प्रधानमन्त्री ओलीले भने कोरोना कहर सकिएपछि प्रधानमन्त्री पदबाट राजीनामा गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।

नेकपाभित्र अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले गठबन्धन बनाएका छन् ।

प्रधानमन्त्री ओली उक्त गठबन्धन तोड्ने रणनीतिमा छन् ।