बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन सुरु « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन सुरु


2.262k
Shares

काठमाडौं । प्रदेश सभाबाट बजेट पास भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् ।

सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा (एकीकृत) समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् । पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो ।

उहाँलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो । कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर संकलन गरिएको सांसदहरु बताउँछन् ।

हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको बताइएको छ ।