ओखलढुंगा। ओखलढुंगाको ऐतिहासिक तथा धार्मिक स्थल लिब्जु डाँडामा पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ।
प्रकृति पूजक वाम्बुले राई र अन्य समुदायको साझा आस्थाको केन्द्रका रूपमा रहेको लिब्जु डाँडामा पूर्वाधार निर्माण कार्य शुरु गरिएकाे छ। मानेभञ्ज्याङ गाउँपालिकाले विस्तृत गुरुयोजना नै तयार पारेर लिब्जु डाँडाको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका गतिविधि शुरु गरेको हो ।

साेही गाउँपालिकामा रहेको लिब्जु डाँडालाई विशेष गरी स्थानीय वाम्बुले राई समुदायले लिब्जु उपो अर्थात् लिब्जु बाजेका रूपमा मान्दै पितृ र प्रकृतिको पूजा गर्ने प्रमुख पवित्र थलोका रूपमा पुकार्दै आएका छन् । समुन्द्री सतहबाट १ हजार ९ सय ५७ मिटरको उचाइमा अवस्थित यो डाँडालाई अन्य समुदायले समेत समान आस्था प्रकट गर्ने गर्छन् । धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको भए पनि लिब्जु क्षेत्रमा लामो समयदेखि खानेपानी, विद्युत र अन्य आवश्यक भौतिक पूर्वाधारको अभाव थियो ।

अहिले मानेभञ्ज्याङ गाउँपालिकाले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध कामको थालनी गरेको छ । गाउँपालिकाले हालसम्म ६० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरी लिब्जु क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी, पदमार्गका लागि सिँढी, विद्युतीकरण, इन्टरनेट तथा सुरक्षाका लागि सीसीटीभी क्यामेरा जडानजस्ता कामहरू सम्पन्न गरिसकेको छ। यसका साथै लिब्जु डाँडामा खुला छाडिने साँढे गोरुहरूको सुरक्षा र संरक्षणका लागि व्यवस्थित घेराबार तथा बासस्थान निर्माण गरिएको हाे।

क्षेत्रको वातावरणीय र धार्मिक महत्त्व जोगाउन लिब्जु सामुदायिक वनलाई धार्मिक वनका रूपमा रूपान्तरण गर्ने प्रक्रिया समेत उपभोक्ता समितिसँगको समन्वयमा अघि बढाइएको छ। ज्ञानेन्द्र रुम्दाली, अध्यक्ष, मानेभञ्ज्याङ गाउँपालिका स्थानीय तहले लिब्जु क्षेत्रमा यहाँका सम्पूर्ण समुदायको जातीय पहिचान झल्किने सङ्ग्रहालय निर्माण गर्ने दूरगामी सोच अघि सारेको हाे । संघ र प्रदेश सरकारबाट पर्याप्त बजेट भित्र्याउन पहल भइरहेको भए पनि हाल स्थानीय सरकारकै स्रोत-साधन प्रयोग गरेर पूर्वाधार निर्माणका कार्यहरू भइरहेका छन् ।
प्राकृतिक सौन्दर्य, धार्मिक सहिष्णुता र साँस्कृतिक समृद्धिको संगम बनेको लिब्जु डाँडालाई ओखलढुंगाकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार जुटिरहेको छ। जितेन्द्र राई, वडाध्यक्ष, गाउँपालिका चारैतिर घना जंगल र मनोरम दृश्यले सजिएको लिब्जु डाँडा जैविक विविधता, धार्मिक सहिष्णुता र साँस्कृतिक समृद्धिको संगम हो।
पूर्वाधार, प्रचारप्रसार र रणनीतिक प्रवर्द्धनलाई निरन्तरता दिन सके यस क्षेत्रले ओखलढुंगाको समग्र पहिचानलाई नयाँ उचाइ दिँदै स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा साबित हुने निश्चित देखिन्छ।
भिडियाे रिपाेर्ट:









प्रतिक्रिया दिनुहोस्