२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तालमेल भएका सहरमा बढी बदर


117
Shares

काठमाडौं । गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ । त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।

निर्वाचन आयोगले दलहरूका कारण बदर मत बढी भएको दाबी गरेको छ तर आयोगका पूर्वपदाधिकारी भने आयोगकै कमजोरीले बदर मत बढेको बताउँछन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गाउँभन्दा सहरमा मत बढी बदर भएका कारण खुलाउँदै भन्नुभयो, ‘हेलचेक्र्याइँ वा मतदान गर्न अनिच्छुक वा मतदाताले विकल्प नपाएर मत बदर गरेको हुनसक्छ ।’ यद्यपि उहाँले दलहरूबीच हुने चुनावी तालमेललाई मतदाताले मतदानको क्रममा ध्यान नदिएको वा नबुझेकाले समेत सहरमा बदर मत बढेको दाबी गर्नुभयो ।

तर पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावी तालमेलभन्दा पनि मतपत्रको डिजाइनले मत बदर बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफूले मत हाल्न खोजेको चुनाव चिह्न छरिएर रहँदा अलमलिन गई मत बदर हुने सम्भावना बढी हुन्छ ।’

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।