
काठमाडौं । संसद्मा गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भयो । जनप्रतिनिधिले संसद् बैठकलाई बेवास्ता गरे, व्यवस्थापिकालाई उचित सम्मान दिएनन् भनेर समय–समयमा जनआवाज उठ्ने गरे पनि उनीहरूको व्यवहारमा परिवर्तन नआएका कारण शुरू हुन लागेको बैठक स्थगित भयो ।
प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ निर्णयार्थ पेस गर्न खोजेको बेला नियमापत्ति भएको थियो । सांसद झपट रावलले गणपूरक संख्या नपुगेकाले विधेयक निर्णयार्थ पेस गर्न नहुने भन्दै नियमापत्ति गर्नुभएको थियो ।
त्यसपछि सभामुख सापकोटाले सांसदको संख्या गणना गर्न लगाउनुभयो । गणना गर्दा ६३ सांसद मात्रै उपस्थित भएको पाइयो ।नेपालको संविधान, २०७२ को धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाई सांसद उपस्थित हुनुपर्छ । यस अनुसार, ६९ जना गणपूरक संख्या हुनआउँछ ।प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले बैठक स्थगन भएको घोषणा गर्नुभएको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्