अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको अध्याय समाप्त « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको अध्याय समाप्त


4.524k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट) मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ ।

प्राविधिक रूपमा अहिलेको रेखाङ्कन बाहिर जान सक्ने भूबनोट नरहेकाले आयोजना नै खारेजीको अवस्थामा पुगेको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समेत अब बाहिरी चक्रपथ आयोजना अगाडि बढ्न नसक्ने बताउनुभएको छ । आयोजनामा पर्ने अत्यधिक जग्गा कित्ताकाट भइसकेको र घर पनि बनेकाले बाहिरी चक्रपथ निर्माण नहुने सम्भावना नरहेको उहाँले यसअघि गोरखापत्रलाई बताउनुभएको थियो । उहाँले भन्नुभयो, “१८ वर्षअघि परिकल्पना गरिएको रेखाङ्कनमा चक्रपथ बनिहाल्ला भन्न सकिने अवस्था छैन । आयोजना सञ्चालन हुँदैन भन्ने कुरामा लगभग अब अनौपचारिक हिसाबले त निश्चित नै छ ।”

सहरी विकास मन्त्रालयका पूर्वसचिव इन्जिनियर किशोर थापाले करिब दुई दशकअघि तयार पारिएको रेखाङ्कनमा धेरै परिवर्तन भइसकेको बताउँदै पुरानै रेखाङ्कनमा बाहिरी चक्रपथ निर्माण सम्भव नरहेको स्पष्ट पार्नुभयो । दृढ राजनीतिक प्राथमिकताको अभावमा विगतमा चक्रपथ निर्माण अगाडि बढ्न नसकेको बताउँदै उहाँले प्राथमिकतामा परेमा रेखाङ्कन परिवर्तन गरेर अझै पनि चक्रपथ निर्माण सम्भव रहेको बताउनुभयो । सर्वदलीय राजनीतिक सहमति र सरकारको प्राथमिकता भयो भने निर्माण सम्भव रहेको उहाँको धारणा छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।