बनेन सडक, थापियो धराप « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


बनेन सडक, थापियो धराप


1.209k
Shares

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२, कपन बस्ने भीमलादेवी कोइरालाले शुक्रबार बिहान छोरालाई विद्यालय पठाउन सक्नुभएन । बिहान १० बजेसम्म सडकमा भेल घट्ला र छोरालाई विद्यालय पठाउँला भन्ने आशमा उहाँ बस्नुभयो । तर भेल घटेन ।

सोही स्थानमा रहेको नेपाल टेलिकम कार्यालय पछाडि १० वर्षदेखि पसल सञ्चालन गरि रहनुभएकी विमला लुइँटेलको व्यापार नभएको महिनौं भयो । उहाँ भाडाबापत मासिक २८ हजार रुपियाँ तिर्नुहुन्छ । लुइँटेल बस्ने घरमै रहेका दुईवटा पसलको व्यापार ठप्प भएपछि चैत नलाग्दै सरे । उहाँको पनि व्यापार नभएको धेरै हप्ता बित्यो सर्लाहीदेखि काठमाडौं आएर व्यापार गर्न थाले देखि अहिलेसम्म यस्तो अवस्था आएको थिएन । उहाँले भन्नुभयो, “पसलकै आम्दानीले भाडा तिर्ने हो । एक पैसा पनि आम्दानी नभएपछि पसल सार्ने बाहेक अरू विकल्प रहेन तर पसल कसरी सार्ने भन्ने अर्को चिन्ता छ ।”

कोइराला र लुइँटेलजस्तै पीडामा हुनुहुन्छ, कपनकै मिलनचोक तरकारी बजारका सम्राटसिंह तामाङ । सडकपेटीमा ठेला राखेर व्यापार गर्ने तामाङले शुक्रबार बिहान तरकारी बेच्न पाउनुभएन । उहाँहरूजस्तै यस क्षेत्रमा १० हजार भन्दा बढी नागरिकको साझा समस्या हो यो । २०७८ पुस १८ गते लुइँटेलको घर अगाडि काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ–१०, ११ र १२ लाई समेट्ने आनीगुम्बादेखि धोबीखोलासम्मको सडकमा नाला निर्माणका लागि ७ फिट गहिरो खाडल खनिएको छ । सडक लथालिङ्ग पारिएको छ । जसका कारण उक्त क्षेत्रका दुई दर्जन पसल सञ्चालकले सारेको लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी ल्याउने ठाउँ छैन । सामान बोकेरै लान पनि सम्भव छैन । परिबन्दमा परिरहेका छौं ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।