नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्री देउवाको प्रस्ताव « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्री देउवाको प्रस्ताव


91
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राख्नुभएको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको जानकारी दिनुभयो ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावबारे भने कुनै बैठकले कुनै निर्णय नगरेको बताइएको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सुरुमा राजनीतिक अधिकार नपाउने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता लिने प्रस्ताव गरेको थियो ।

त्यसबेला नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुले हालकै व्यवस्था जस्तो तत्काल नागरिकता दिनुपर्ने मत राखेका थिए । तर बहुमतका आधारमा त्यतिबेला ७ वर्षे प्रावधान राखेर नगरिकता विधेयकको प्रतिवेदन राज्य व्यवस्था समितिले टुंग्याएर प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी, कांग्रेस नेतृत्वको सरकारमा छ ।