गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता


221
Shares

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बाेधन गर्दै आज (शनिबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने समेत बताउनुभयाे । गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धि ऐन ल्याएर काम अघि बढ्ने बताउदै उहाँले अब बस्ने मन्त्रीपरिषदको बैठकबाट टुङ्गो लाग्ने बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठान बने सुदूरपश्चिममा चिकित्सक उत्पादन हुने र बिकट ठाउँका नागरिकलाई पनि स्वास्थ्य सेवा लिन सहज हुने उहाँकाे तर्क छ ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति लिइसकेकाे समेत दावी गर्नुभएकाे छ । कैलालीमा नदी कटानको समस्या रहेको भन्दै यस विषयमा समेत आफूले पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । मोहना देखी पूर्व सत्तीसम्मको नदी कटानको समस्या सबै मिलेर समाधान गर्न सकिने र यसका विषयमा भारतसँग कुरा गर्न सकिने उहाँकाे भनाइ छ ।

धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुपर्ने बताउनुभएकाे छ । त्यसका लागि उहाँले मेयर हमाललाई कडा रूपमा प्रस्तुत हुन आग्रह गर्नु भएकाे छ । प्रदेश सरकार र स्थानीय तहको सरकारलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहमा कर्मचारीको समस्या रहेको समेत बताउनुभएकाे छ ।

साथै कर्मचारी प्रदेश र स्थानीय तह आउन नचाहने तथा केन्द्रमा बस्न चाहने गरेको बताउदै उहाँले उनीहरूलाई अवसर दिएर भएपनि प्रदेशमा ल्याउनुपर्ने उहाँकाे जाेड छ ।