२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एसपिपी प्रकरणः राजनीतिमा नैतिकता हरायो


156
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं माओवादी नेत्री अमृता थापाले राजनीतिमा नैतिकता हराउँदै गएको बताएकी छन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का विषयमा प्रतिनिधि सभा सदस्यहरू पक्ष र विपक्षमा विभाजित भइरहेका बेला सांसद थापाले तथ्यलाई बंग्याएर पार्टीका जिम्मेवार नेताहरूले जनताको सार्वभौम थलोमा मिथ्या धारणा राखेर नैतिकताको अलिकति पनि ख्याल नगरेको बताएकी हुन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले उपाध्यक्षसमेत रहेका सांसद ईश्वर पोखरेलले तथ्यलाई बंग्याएर मिथ्या धारणा राखेको जिकिर गर्दै थापाले उनले व्यक्त गरेको धारणा संसद्को रेकर्डबाटै हटाउनुपर्ने तर्क गरिन्। उनले सांसद पोखरेलको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, ‘राजनीतिमा नैतिकता हराएपछि यस्तै हुन्छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीका पालामा २०७२ कात्तिकमा एसपिपीका विषयमा हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाउने अहिले आएर उनकै दलका नेताले संसद्बाट ठाडो चुनौती दिन मिल्छरु सार्वभौम प्रतिनिधि सभामा झुट बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ।’

आफैं गल्ती गर्ने अनि आफैं निहुँ खोज्ने काम एमालेका सांसदले गरेको उनले बताइन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद पोखरेलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागिताका लागि पत्राचार गर्ने कार्य तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा भएको दाबी गर्दै यसबारे एमाले अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा कुनै लिखत, निर्णय भको भए संसद्मा प्रस्तुत गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका थिए। त्यसअघि दाहालले ओली नेतृत्वको सरकारले एसपिपी अघि बढाएको बताएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।